
काठमाडौं । साफ यु–२० च्याम्पियनसिपतर्फ आज पहिलो सेमिफाइनलमा आयोजक नेपालले आत्मविश्वासी भुटानको सामना गर्दैछ । समूह ए को विजेता नेपाल र समूह बी को उपविजेता भुटान लगातार दोस्रोपटक सेमिफाइनल खेल्न लागेका हुन् ।
गत संस्करणमा पनि यी दुई टोलीले सेमिफाइनल खेलेका थिए । त्यतिबेला भुटानले पाकिस्तानसँग र नेपालले भारतसँग पराजय बेहोरेको थियो । यद्यपि यसपटक भने नेपाल र भुटान दुवै फाइनल प्रवेश गर्ने योजनामा हुनेछन् ।
समूह चरणमा बलियो बंगलादेश र श्रीलंकालाई हराउँदै शतप्रतिशत नतिजाका साथ सेमिफाइनल प्रवेश गरेको नेपाललाई घरेलु समर्थक र मैदानको साथ रहनेछ । उता साविक विजेता भारतलाई कडा चुनौति दिएको र माल्दिभ्समाथि सनसनीपूर्ण जित निकालेको भुटान पनि आत्मविश्वासी छ ।
प्राविधिक रुपमा छरितो र सुन्दर खेल पस्किरहेको भुटानलाई नेपालले कमजोर र सहज प्रतिद्वन्द्वीका रुपमा हेर्नु गलत साबित हुन सक्छ । समग्रमा आजको पहिलो सेमिफाइनल खेल निश्चित रुपमा रोमाञ्चक हुने अनुमान गरिएको छ ।
आजको खेल ठिक ३ बजेदेखि शुरुहुने कार्यक्रम छ । सेमिफाइनल खेलहरु भने दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी गराईसकेको छ ।