
पिपरिचापा । आउँदै गरेको नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को अवसर पारी गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५, पिपरिचापाको आयोजनामा बिहीबारदेखि प्रथम गौतम बुद्ध कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
कञ्चन–५, पिपरिचापा स्थित आयोजक संस्था कै खेलमैदानमा भएको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । जसअन्तर्गत गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र इभोलुशन क्लब, तामनगरले विजयी शुरुवात समेत गरेका छन् ।
दिनको पहिलो र उद्घाटन खेलमा गोर्खा ब्वाईजले ढावा फुटबल क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । गोर्खा ब्वाईजका लागि सदिप केसीले ह्याट्रिक गरे भने थप एक गोल समुन्द्र ज्ञवालीले गरेका थिए ।
दोस्रो खेलमा इभोलुशनले सुनगाभा ुयुथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । इभोलुशनको जितमा जयदिप बिकले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता जयदिप नै खेलको म्यान अफ द म्याच चुनिए ।
यो जितसँगै दुवै टोली क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत भदौ ७ गते शुक्रबारको तेस्रो प्रिक्वाटरफाइनल खेल खस्यौली एफसी र चाँदनी युवा क्लब बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक संस्थाका अध्यक्ष कमल दर्जी लगायतले संयुक्त रुपमा गरेका थिए ।
यही भदौ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि खेल संयोजक रोशन पुन मगरले बताए ।
पिपरिचापा र गौतम बुद्ध संस्थालाई उत्कृष्ट बनाउने लक्ष्य
सोही अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले प्रतियोगिता आयोजना पहिलो प्रयास भए तापनि यो प्रतियोगिताले पिपरिचापा, कञ्चन गाउँपालिका र आयोजक संस्था कै प्रतिष्ठालाई उचों बनाउने आफूहरुको योजना रहेको सुनाए । प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न मुख्य जिम्मेवारीलाई पनि सबैको साथ र सहकार्यलृ कुशलतापुर्वक सम्पन्न गर्ने अठोट आफूहरुले लिएको अध्यक्ष कमल दर्जीले बताए ।
त्यस्तै खेल संयोजक रोशन पुनले प्रतियोगितालाई जिल्ला कै उत्कृष्ट फुटबल प्रतियोगिताका रुपमा अगाडी बढाउने लक्ष्य लिएको बताए । युवा खेलाडीहरुको साथ, शुभेच्छुक र आयोजक संस्था कै पदाधिकारीहरुको सहयोग र सुझावले प्रतियोगिता आयोजना गर्ने आफ्नो योजना सफल भएको पनि संयोजक पुनले सुनाए । साथै प्रतियोगितालाई आगामी दिनमा अझै विशेष रुपमा आयोजना गर्ने गरी गृहकार्य पनि शुरु गर्ने उनले बताए ।