काठमाडौं । प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औं संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा समूह बीच सम्झौता भएको छ ।
सम्झौतामा गोल्छा समूहको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गोल्छा समूहले यसपल्ट गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ ।
त्यस्तै मञ्चलाई १२ लाख नगद रुपैया प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। निर्देशक गोल्छाले त्यस अवसरमा भने, ‘पल्सर बाइक र खेलाडीको गति, क्षमता र भावना मेल खान्छ । हामीले खेलाडीलाई दिने सम्मानले खेलक्षेत्रमा टेवा पुगेको हामीलाई विश्वास छ।’
नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा समूहबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो । यो वर्ष स्पोर्टस अवार्डसँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो । खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो । उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ।
मञ्चका अध्यक्ष सुवेदीले भने, ‘यसपल्ट अवार्डको विशेषता के हो भने एसियाभरका पत्रकारले नेपालको यो प्रतिष्ठित अवार्ड कार्यक्रम प्रत्यक्ष हेर्ने छन् ।’ यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधा रहेको छ।
यसमध्ये वर्षका पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले बाइक प्राप्त गर्नेछ भने ४ विधाहरु टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल र पारा एथलिट अवार्डका विजेताले १ लाख रुपैयाँ प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो। यसअघि यी विधाका विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने गरिएकोमा यस पटकदेखि १ लाख बनाइएको मञ्चका महासचिव प्रज्वल ओलीले बताए।
कार्यक्रममा एनएनआइपीएका मानार्थ अध्यक्ष दीपक विष्टले मञ्चले निरन्तर रुपमा आयोजना गर्दै आएको अवार्ड कार्यक्रमले नेपाली खेलाडीका लागि ठूलो हौसलाको विषय बन्दै आएको बताए। उनले भने, ‘हामी खेलाडीको लागि यो नै सबैभन्दा ठूलो सम्मान र हौसलाको कार्यक्रम हो। यसका लागि हामी मञ्च र प्रायोजन गर्ने गोल्छा गु्रपप्रति आभार ब्यक्त गर्न चाहन्छौं।’
पल्सर स्पोर्टस अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।
गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाईं, युवामा क्रिकेटका देवकुमार खनाल र प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् । स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको हो । पारा एथलिट सम्मान एथलेटिक्स पारा खेलाडी मैंया विशुंखे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड चिनियाँका खेलपत्रकार चेउ चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट