
काठमाडौं । “विदेशी भूमिमा संघर्षको क्रममा, रमाउ हामी फुटसलको गोलमा” भन्ने नाराका साथ दक्षिण कोरियामा खेलका क्रममा घाईते भएका खेलाडीहरुको सहयोगार्थ यही जुलाई १४ तारीखका दिन प्रथम गिम्हे युनाइटेड फुटसल कप हुने भएको छ ।
गिम्हे युनाइटेड एफसी, दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउन चाहने दक्षिण कोरियामा रहेका इच्छुक नेपाली समुदायको फुटसल टोलीहरुले टिमदर्ता गर्न सकिने आयोजकले जानकारी दियो । टिमदर्ता शुल्क भने ३ लाख वन तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० लाख वन हात पार्नेछ भने उपविजेताले २० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधाका खेलाडीहरुले जनही नगद १–१ लाखसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।