News पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि
उमेश पुन

हेमजा । उत्कृष्ट जित हात पार्दै हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । । फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै विजेता बन्यो । पोखरा १३ को जितमा राजकुमार गुरुङ्गले दुई गोल गरे भने थप एक गोल नरेन्द्रजंग गुरुङ्गले गरे ।

विजेता बनेको वडा नम्बर १३ ले उपाधिसहित नगद १,११,०११ रुपैयाँ हात पार्यो भने उपविजेता वडा नम्बर १२ ले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । वडा नम्बर १२ का नितेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक खम बहादुर गुरुङ्ग बन्दा अमित परियार उत्कृष्ट डिफेन्डर चुनिए । त्यस्तै बिजय कुमार उत्कृष्ट मिडफिल्डर बन्दा नरेन्द्रजंग गुरुङ्ग उत्कृष्ट फरवार्ड बने । सर्वाधिक गोलकर्ताको पुरस्कार भने राजकुमार गुरुङ्गले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका कुल १३ वडाहरुका १४ टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments