News हनामी बिएफसीलाई नवलपरासी गोल्डकपको उपाधि
सुरज राना मगर

सुनवल । उत्कृष्ट जितका साथ बिहीबार सम्पन्न प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हनामी बिएफसी, चितवनले जितेको छ । फाइनलमा सहारा क्लब, पोखराको चुनौति ३–१ ले समाप्त पार्दै बिएफसी च्याम्पियन बनेको हो ।

सुनवल–१२ स्थित शहिद स्मृति रंगशालामा भएको खेलमा बिएफसीका लागि विकी चाम्लिङले दुई गोल गरे भने थप एक गोल बिजय सिंह ठकुरीले गोल गरे । पराजित सहाराका लागि सरोज तितुङले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको चौथो मिनट मै सरोजको गोलबाट अग्रता बनाएको सहाराले त्यसलाई धेरैबेर जोगाउन सकेन । सातौं मिनटमा बिएफसीका लागि बिजय सिंहले उत्कृष्ट फ्रिकिक गोलमार्फत खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ४० र ६५औं मिनटमा विकी राईले लगातार दुई गोल गर्दै बिएफसीको जित सुनिश्चित गरे ।

विजेता बनेको बिएफसीले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्यो भने उपविजेता सहाराले ३ लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुक्रायो । बिएफसीका बिजय सिंह ठकुरी म्यान अफ द फाइनल म्याच घोषित भए । त्यसवापत उनले नगद ५ हजार र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक बिएफसी कै मनोज गुरुङ्ग बन्दा उत्कृष्ट डिफेन्डर सहाराका जिवन गुरुङ्ग घोषित भए । उत्कृष्ट प्रशिक्षक बिएफसीका ध्रुव भुषाल बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि बिएफसी कै बिकी चाम्लिङ राईले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिएफसी कै जितेश गुरुङ्ग घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफी हात पारे ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments