News सहारा प्रथम नवलपरासी गोल्डकपको फाइनलमा
सुरज राना मगर

सुनवल । सहारा क्लब, पोखरा यहाँ जारी प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक राईजिङ स्टार फुटबल क्लब, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सहारा फाइनलमा पुगेको हो ।

सुनवल–१२ स्थित शहिद स्मृति रंगशालामा भएको खेलमा पहिलो हाफको ३४औं मिनटमा बिपुल गौतमले गरेको एक मात्र गोल सहारालाई उपाधि नजिक पुर्याउन निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने सहारा कै डिफेन्डर जिवन गुरुङ्ग घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

सहाराले अब यही जेठ २४ गते बिहीबारका दिन हुने फाइनलमा हनामी बिएफसी, चितवनसँग उपाधिका लागि भिड्ने खेल संयोजक सन्दिप केसीले बताए । स्मरणीय छ, बिएफसीले जेठ २१ गते सोमबार भएको पहिलो सेमिफाइनलमा रेसिङ्ग सहारा क्लब, कोहलपुरलाई हराउँदै फाइनलमा स्थान बनाईसकेको छ ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए ।

Post Comments