News प्रभावशाली जितका साथ हनामी बिएफसी फाइनलमा
सुरज राना मगर

सुनवल । प्रभावशाली जित निकाल्दै हनामी बिएफसी यहाँ जारी प्रथम नवलपरासी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा बिएफसीले कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँकेलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

शहिद स्मृति रंगशालामा भएको खेलमा बिएफसीका लागि खेलको चौथो मिनट मै मिलन क्षेत्रीले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४६औं मिनटमा बिकी राईले दोस्रो गोल थपे । दोस्रो हाफको दशौं मिनटमा राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बिएफसीको जित पक्का गरे ।

खेलमा म्यान अफ द म्याच भने बिएफसी कै मिलन क्षेत्री घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत जेठ २२ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक राईजिङ्ग स्टार फुटबल क्लब, भूमही र सहारा क्लब, पोखरा बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भूमही, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने प्रतिष्ठानका महासचिव धमेन्द्र अग्रहरीले बताए । फाइनल खेल यही जेठ २४ गतेका दिन हुनेछ ।

Post Comments