News राराका राम बने सर्वोत्कृष्ट खेलाडी
गोलनेपाल

राजारानी । बुधबार सम्पन्न भएको ११औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक रारा फुटबल क्लबका राम वजी घोषित भएका छन् । सर्वोत्कृष्ट बनेका रामले नगद 50 हजारसहित ट्रफी हात पारे ।

स्मरण रहोस, बुधबार सम्पन्न फाइनल भिडन्तमा सलहेश युवा क्लब, सिरहाले आयोजक रारा फुटबल क्लब, धनकुटालाई टाईब्रेकरमा हराउँदै उपाधि जितेको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै अन्य विधातर्फ सलहेशका फागुराम थारु फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद ७ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि सलहेशका युनिश चौधरी चुनिए । उदीयमान खेलाडी आयोजक राराका शिसल लिम्बु बने । उत्कृष्ट बनेका सबैले जनही ११–११ हजार र ट्रफी हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने समान २–२ गोल गरेका सलहेशका आदित्य शाक्य र अर्माण्ड, डाँगीहाट युथ क्लबका असिम राई, बिर्तामोड युनाइटेडका आशिष चापागाईं र योगेश गुरुङ्ग तथा भोजपुर जिल्ला फुटबल संघका निशान लिम्बुले संयुक्त रुपमा हात पारे । सर्वाधिक गोलकर्ता सबैले जनही २–२ हजार बाँडे ।

रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा गत जेठ १० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments