News केराबारीलाई प्रथम पानबारी गोल्डकपको उपाधि
गोलनेपाल

धरान । यहाँ समपन्न प्रथम पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि केराबारी फुटबल क्लब, मोरङले जितेको छ । फाइनलमा चौबीसे सामुदायिक बिकास सुचना केन्द्र फुटबल क्लब (सिसिडीआईसि) धनकुटालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै केराबारी च्याम्पियन बनेको हो ।

धरान ६ पानवारी स्थित बाजिपा खेल मैदानमा भएको फाइनल भिडन्तमा केराबारीका लागि दुवै गोल भुवन बस्नेतले गरे । फाइनल खेलका निर्णायक गोलकर्ता बस्नेत म्यान अफ द फाइनल म्याच समेत चुनिए ।

विजेता बनेको केराबारीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता चौबिसेले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक केराबारीका आयुष योङहाङ बन्दा उत्कृष्ट डिफेन्डर चौबिसेका रोमन लिम्बु चुनिए । उत्कृष्ट मिडफिल्डर पनि केराबारीका अनिष मगर बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार केराबारीका भुवन बस्नेत र चौबिसेका सुनिल खड्काले संयुक्त रुपमा हात पारे ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक केराबारीका प्रितम लिम्बु बन्दा उदियमान खेलाडी मनिष लिम्बु बने । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने प्रवेश बस्नेत घोषित भए ।

पानबारी फुटबल क्लब, धरानको आयोजना तथा मेनपावर व्यवसायी संघको मुख्य प्रायोजनमा बैशाख २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments