
काठमाडौं । नेपाल फुटसल व्यवसायी संघले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।
स्मरण रहोस, निजी क्षेत्रबाट सञ्चालनमा रहेका फुटसल मैदान कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्ला तीन महिनादेखि बन्द रहेको हुँदा फुटसल व्यवसायीहरु चरम आर्थिक संकटमा छन् ।
'विश्वव्यापी रुपमा लकडाउन केही खुकुलो भएसँगै खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधी निर्माण गरी फुटसल सञ्चालन गर्न व्यवसायीहरु पूर्ण प्रतिबद्ध रहेको' कुरा नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
साथै यसबारे राज्यले कुनै पहल नगरेको भन्दै व्यवसायीहरुले प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाई आवश्यक पहल गरिदिन आग्रह समेत गरेको छ । व्यवसायीहरुका अनुसार फुटसल व्यवसाय बन्द हुँदा बिजुली, जग्गा भाडा, बैंकको ब्याज, दैनिक खर्च लगायतको व्यवस्था गर्न कठिन भईसकेको ज्ञापनपत्रमा जनाइएको छ ।
त्यस्तै यस अवस्थामा खेल सञ्चालन गर्दा खेल मैदान परिसर भित्र प्रवेश गर्नुअघि खेलाडीहरुको तापक्रम जाँच्ने, साबुन पानीको व्यवस्थान, सेनिटाइजर र व्यवस्थित बाथरुमको साथै कुनै किसिमको भिडभाड नहुने प्रतियोगिता नगर्ने, कर्मचारीको स्वास्थ्यको विशेष ध्यान दिने र फुटसल मैदान भित्र दश खेलाडीलाई मात्र प्रवेश दिइने ज्ञापन पत्रमा उल्लेख छ ।
फुटसलको माध्यमबाट आम नागरिकको मानसिक, शारीरिक, स्वास्थ्यता र मनोरञ्जन कायम हुने बताउँदै नेपाल फुटसल व्यवसायी संघले आफूहरुको हाल बन्द भएको व्यवसाय जतिसक्दो छिटो सञ्चालनमा ल्याउन पहल गरिदिन प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै