News खस्यौलीलाई आहना कपको उपाधि
सुरज राना मगर

बुटवल । स्व. सुशिल मगर र संजय लामा स्मृति डिवाइसी आहना कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लबले जितेको छ । फाइनलमा आयोजक डिवाइसी आहना फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै खस्यौली च्याम्पियन बनेको हो ।

बुटवल–११, देवीनगर स्थित वाणिज्य क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने खस्यौलीले २–१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको खस्यौलीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता आहनाले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ आहनाका रेम्बा सुनार प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

उत्कृष्ट गोलरक्षक खस्यौलीका अनुप थापा घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार आहना कै सुन्दर बगालेले हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक क्लबका अध्यक्ष नबिन सारु लगायतले पुरस्कृत गरेका थिए ।

सोही अवसरमा मैत्रीपूर्ण भेट्रान फुटबल म्याचको पनि आयोजना गरिएको छ । आयोजक आहना एफसी र बुटवल भेट्रान बीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

डिवाइसी र आहना फुटबल क्लब, बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक राजकुमार थापाले जानकारी दिए ।

Post Comments