
बभनी । आयोजक न्यु राईज युथ क्लब, बभनी यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ५–१ ले हराउँदै न्यु राईज उपाधि नजिक पुगेको हो ।
तिलोत्तमा–१३ स्थित श्री बभनी भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलमा न्यु राईजका लागि एरोन थापाले ह्याट्रिक गरे । थप दुई गोल भने मनिष पुन मगर र आयुष गुरुङले गरे । उता पराजित नवयुवाका लागि अनुज गैरेले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा ह्याट्रिक गरेका न्यु राईजका एरोन थापा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ ५ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र डि युनिटी क्लब, खैरेनी बीच हुने आयोजकले जानकारी दियो ।
न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।