News आयोजक न्यु राईज र डि युनिटी सेमिफाइनलमा
सुरज राना मगर

बभनी । आयोजक न्यु राईज युथ क्लब, बभनी र डि युनिटी क्लब, खैरेनी यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

बुधबार भएको दिनको पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलतर्फ न्यु राईजले न्यु सिर्जना युथ क्लब, करौजियालाई ३–१ ले हरायो । न्यु राईजको जितमा मनिष पुन, इन्द्र भण्डारी र आयुष गुरुङले गोल गरे । पराजित न्यु सिर्जनाका लागि मिलन आलेले एक मात्र गोल फर्काएका थिए । खेलमा न्यु राईजका अनुप बुढा म्यान अफ द म्याच घोषित भए ।

बुधबार नै भएको चौथो क्वाटरफाइनलतर्फ डि युनिटीले सन्जिवनी युवा क्लब, देवीनगरलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि । खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा डि युनिटीले १–० ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा डि युनिटीका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ४ गते बिहीबारको पहिलो सेमिफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र आयोजक न्यु राईज युथ क्लब, बभनी बीच हुने आयोजक क्लबका सचिव कृष्ण खनालले जानकारी दिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

Post Comments