News रोमनको ह्याट्रिकसँगै न्यु स्टार उपाधि नजिक
रमेश समदर्शी

शनिश्चरे । रोमन भुजेलको ह्याट्रिक मद्दतले खोपबाडीको न्यू स्टार क्लब यहाँ जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लक्ष्मीधाप मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू स्टारले हल्दिबारीको जलथल एफसीमाथि ४-१ गोलको स्पष्ट जित हात पारेर उपाधि नजिक पुगेको हो ।

केही ढिलोगरी मैदान प्रवेश गरेका रोमनको ह्याट्रिक र सोनाहाङ लिम्बूले गोल गरे भने जलथलका लागि कप्तान सन्देश भुजेलले एक गोल गरेका थिए । न्यू स्टारका सोनाहाङले खेलको ५ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि रोमन भुजेलले २०औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए । खेलको ५७औँ मिनेटमा रोमनले व्यक्तिगत दोस्रो गोल गर्दै ३ ० गोलका फराकिलो नतिजा निकालेका थिए । न्यू स्टारका कप्तान सनम राईको गल्तीको फाइदा उठाउँदै जलथलका कप्तान सन्देश भुजेलले २८औँ मिनेटमा गरे ।

प्रतिस्पर्धात्मक खेलमा रोमनले फेरि खेलको ६५औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै फराकिलो गोलअन्तर निकाले । खेलको म्यान अफ दी म्याच रोमन भए । उनलाई आजका प्रमुख अतिथि अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।

रोमनको ह्याट्रिकसँगै २ खेलमा ४ गोल भएको छ भने उपाधिको दाबेदार टोली शनिश्चरे एफसीका देवेन्द्र तामाङले एकै खेलमा ४ गोल गरेका छन् । भोलि (बिहीबार) शनिश्चरेले शिवसताक्षी स्पोर्टिङ क्लबसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३-३ हजार पाउने छन् ।
Post Comments