
फुलबारी गाईज, बुटवल जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित चाँदनी फुटबल मैदानमा आइतबार सम्पन्न खेलमा फुलबारीले एभरेष्ट एफसी, मैनियालाई शून्यका विरुद्ध ४ गोलले हरायो । फुलबारीको जितमा टिकाराज गुरुङले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै थप एक गोल शरद क्षेत्रीले गरे ।
आइतबारको खेलमा ह्याट्रिक गरेका फुलबारीका टिकाराज गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज २२ गते सोमबारको खेल आयोजक चाँदनी युवा क्लब र माउण्टस्टार एफसी, बुटवल बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।
चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।