
काठमाडौं । लगातार दोस्रो हारका साथ नेपाल जारी साफ यु–१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको समूह ए तर्फको अन्तिम खेलमा नेपालले भारतँग शून्यका विरुद्ध १ गोलको हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको हो ।
स्मरण रहोस, नेपालले सोमबार मात्रै आफ्नो पहिलो खेलमा बंगलादेशसँग समान ०–१ को हार बेहोरेको थियो । यो लगातार दोस्रो हारसँग नेपाल भने समूह चरणबाट एउटै अंक नजोडी बाहिरिएको छ ।
उता लगातार दोस्रो जित हात पारेको भारत ६ अंकका साथ समूह ए को विजेता बन्दा ३ अंक जोडेको बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
त्यस्तै बुधबार नै भएको समूह बी तर्फको अन्तिम तथा निर्णायक खेलमा माल्दिभ्सले भुटानलाई ३–२ ले हरायो । समूह बी मा ६ अंक जोडेको पाकिस्तान र ३ अंक जोडेको माल्दिभ्स सेमिफाइनल प्रवेश गरेको छ भने अंकविहीन भुटान समूह चरणबाटै बाहिरिएको छ ।
सेमिफाइनल समिकरण पनि पूरा
बुधबार सम्पन्न भएका खेलहरुसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । शुक्रबार हुने पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा पाकिस्तानले बंंगलादेशसँग खेल्नेछ ।