News आर्मीबाट अलग भए नबिन, मेघराजलाई जिम्मेवारी
गोलनेपाल

काठमाडौं । घरेलु फुटबलमा सफलतम युवा प्रशिक्षकको छवी बनाएका नविन न्यौपानेले सात वर्षपछि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको जिम्मेवारी छाडेका छन् । नबिनले आर्मीसँग सहमति गरेरै क्लब छाडेको बताइएको छ ।

वि.सं. २०७३ सालमा पहिलोपटक आर्मीको जिम्मेवारी सम्हालेका नबिनले त्यसयता क्लब इतिहास कै सबैभन्दा सफल प्रशिक्षकका रुपमा आफूलाई उभ्याउन सफल भए । सात वर्षे विभागीय टोलीको जिम्मेवारी सम्हाल्ने क्रममा उनले समग्रमा २४ उपाधि पनि जिते ।

केही स्रोतका अनुसार नबिनले आर्मी छाडेपछि अब अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमी प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रुपमा घोषणा भने भईसकेको छैन ।

आर्मीमा अब मेघराजको नेतृत्व

त्यस्तै आर्मीले अब नयाँ प्रशिक्षकका रुपमा अर्का अनुभवी प्रशिक्षक मेघराज केसीलाई भित्राउने बताइएको छ । केसी आर्मीमा आउनेबारे लगभग तय भईसकेको बुझिए तापनि क्लबले यसबारे आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।

केसीको आर्मीमा यो दोस्रो कार्यकाल हुनेछ । केसीले हालै सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबको जिम्मेवारी सम्हालेका थिए । अब मेघराज कै नेतृत्वमा आर्मीले अगस्त ३ तारीखदेखि भारतमा शुरु हुन गईरहेको प्रतिष्ठित डुरान्ड कप खेल्नेछ ।

प्रतियोगिताको समूह ई मा रहेको आर्मीले दुई इण्डियन सुपर लिग टोली हेदराबाद सिटी, चेन्नइन एफसी र दिल्ली एफसीसँग भिड्नेछ । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्ने छन् ।

Post Comments