News सुर्यपुरलाई चितवन च्याम्पियनसिपको उपाधि
गोलनेपाल

चितवन । फराकिलो जितका साथ छैठौं चितवन च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुर्यपुर फुटबल क्लबले जितेको छ । फाइनलमा गैंडाकोट एफसीलाई ७–१ को फराकिलो अन्तरले हराउँदै सुर्यपुर च्याम्पियन बनेको हो ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा भएको फाइनल भिडन्तमा सुर्यपुरका लागि बिकी राईले ह्याट्रिक गरे । त्यस्तै बिमल घर्ती मगरले दुई गोल गरे भने नबिन लामा र आशिष चौधरी एक–एक गोल गरे । उता पराजित गैंडाकोटले भने आत्मघाती गोल उपहारका रुपमा पाएको थियो ।

विजेता बनेको सुर्यपुरले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता गैंडाकोटले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच सुर्यपुरका बिमल घर्ती मगर चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

हिसुब सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ गैंडाकोटका हिसुब थपलिया सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद २० हजार र ट्रफी हात पारे । त्यसैगरी उत्कृष्ट गोलरक्षक सुर्यपुरका प्रदिप भण्डारी बन्दा उत्कृष्ट डिफेन्डर सुर्यपुर कै कुलदिप कार्की घोषित भए । उत्कृष्ट मिडफिल्डर गैंडाकोटका जय गुरुङ चुनिंदा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सुर्यपुरका बिकी राईले हात पारे । उत्कृष्ट बनेका सबैले जनही १०–१० हजारसहित ट्रफी हात पारे ।

एभरेष्ट क्लब, चितवनको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा असार ५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । खासगरी प्रतियोगिता असार १६ गते सम्पन्न हुने भनिए तापनि प्रतिकुल मौसमका कारण केही दिन ढिला सम्पन्न भएको खेल संयोजक गोपाल गुरुङले बताए ।

Post Comments