
सुरुवाती अग्रता जोगाउन नसक्दा काँकरभिट्टाको तुर्केनी एफसी मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बुधबारेको आदर्श युवा क्लबसँग ३-२ गोलअन्तरमा तुर्केनी एफसी पराजित भएको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ । तुर्केनी एफसीका लागि मिलन गुरुङले खेलको २५औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५ मिनेटमा आदर्श युवा क्लबका लागि दिपेन धिमालले गोल गर्दै बराबरी बनाए । फेरि तुर्केनी एफसीका मिलनले नै दोस्रो हाफको ११औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर, २-१ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बुधबारेले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
बुधबारेका लागि विशाल दर्जीले दोस्रो हाफकोे १७औँ र बबिन बोहोराले २७औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच बुधबारेका विशाल दर्जी बने । उनले नगद १ हजार पुरस्कारवापत पाए । भोलि आयोजक लायन एफसी र चारपाने एफसीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ । यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् ।