
राजारानी । सहज जित हात पार्दै सलहेश युवा क्लब, सिरहा जारी अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सोमबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा सलहेशले गाइघाट फुटबल क्लब, उदयपुरलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
राजारानी खेलमैदानमा भएको खेलमा सलहेशका लागि समिर तामाङले दुई गोल गरे भन सुजन पुलामी र बिबेक तामाङले एक–एक गोल गरे । खेलमा दुई गोल गरेका सलहेशका समिर तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
सलहेशले अब दोस्रो सेमिफाइनलतर्फ बैशाख २७ गतेका दिन पथरी फुटबल क्लब, मोरङसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत बैशाख २६ गते मंगलबारको पहिलो सेमिफाइनल खेल तालतलैया एकेडेमी, सुनसरी र डाँडाबजार फुटबल क्लब, धनकुटाबीच हुने आयोजकले जानकारी दियो ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २८ गतेका दिन हुनेछ ।