
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको १५औं चरणसम्म रेलिगेशन क्षेत्रतिर संघर्षरत टोली फ्रेण्डस क्लब १६औं चरणमा भने उत्कृष्ट जितका साथ लिगतालिकाको शिर्ष दशभित्र उक्लिएको छ ।
सोमबार च्यासल स्टेडियममा भएको खेलमा फ्रेण्डसले खुमलटारमाथि ३–१ को जित निकाल्यो । फ्रेण्डसको जितमा खेलको चौथो र १६औं मिनटमा रफिक अमिनुले लगातार दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा ल्याएका थिए ।
दोस्रो हाफको ६७औं मिनटमा मेसुके ओलुमुले खुमलटारका लागि एक गोल फर्काए तापनि टोलीलाई भने खेलमा फर्काउन सकेनन् । ७८औं मिनटमा सन्तोष खत्रीले फ्रेण्डसका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
यो जितपछि १६ खेलबाट १९ अंक जोडेको फ्रेण्डस लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित खुमलटार भने १७ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा संघर्षरत छ ।
पुलिससँग रोकियो मनाङ
एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले पुछारको टोली नेपाल पुलिस क्लबसँग २–२ बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको छ । खेलको १६औं मिनटमा अहमद हिजाजीको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो ।
तर मनाङका लागि ३३औं मिनटमा रोशन राना मगरले बराबरी गोल फर्काए । ४४औं मिनटमा उज्वेकि मिडफिल्डर सैदजामोल दवलातजनोवले दोस्रो गोल गर्दै मनाङलाई खेलमा २–१ को स्थितिमा ल्याए । तर मनाङले त्यो अग्रता दोस्रो हाफको गुमाउन पुग्यो । ७१औं मिनटमा अहमद हिजाजीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
यो नतिजाका बावजुद १६ खेलबाट १६ अंक जोडेको पुलिस रेलिगेशन क्षेत्रको पुछारमा संघर्षरत छ । मनाङ भने २० अंकका साथ सातौं स्थानमा छ ।