
काठमाडौं (एजेन्सी) । प्रतिष्ठित हिरो इण्डियन सुपर कपमा समूह चरणबाट बाहिरिसकेको किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले सान्त्वना जित हात पारेको छ ।
प्रतियोगिताको समूह ए मा रहेको पञ्जाबले समूह चरणको अन्तिम खेलमा श्रीनिदी डेक्कनलाई शून्यका विरुद्ध १ गोलले हरायो र सुपर कपको सुखद समापन गर्न सफल भयो । त्यसअघि पञ्जाबले समूह चरणको अन्य खेलहरुमा बैंगलुरु एफसी र केरला ब्लास्टर्ससँग हार बेहोरेको थियो ।
श्रीनीदि डेक्कन विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका किरन चेम्जोङ म्यान अफ द म्याच समेत चुनिएका थिए ।
समूह ए मा ३ खेलबाट ५ अंक जोडेको बैंगलुरु सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै ४ अंक जोडेको श्रीनिदी डेक्कन र समान ३–३ अंक जोडेका केरला ब्लास्टर्स र पञ्जाब भने समूह चरणबाटै बाहिरिएका छन् ।
प्रतियोगिताको फाइनल खेल २५ अप्रिलका लागि दिन केरलामा हुनेछ ।