
धरान । मोफसलको प्रतिष्ठित २३औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि एभनिर एफसी, क्यामरुनले जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा एभनिरले काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । धरान रंगशालामा भएको खेलको ६५औं मिनटमा सब्बा अलीले गरेको एक मात्र गोल एभनिरलाई उपाधि जिताउन निर्णायक बन्यो ।
विजेता बनेको एभनिरले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता काकरभिट्टाले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
काकरभिट्टाका मिलन राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १ लाख र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि काकरभिट्टाका निशान लिम्बुले हात पारे । उनले पुरस्कार वापत नगद २५ हजार प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक काकरभिट्टाका प्रमिजय गच्छदार घोषित भए भने उत्कृष्ट डिफेन्डर एभनिरका सागु चुनिए । उत्कृष्ट मिडफिल्डर पनि एभनिर कै जोय अल्डो घोषित हुँदा उत्कृष्ट फरवार्ड काकरभिट्टाका योमी चुनिए । उत्कृष्ट प्रशिक्षक पनि एभनिर कै आशिक थापा बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पङ राई लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।