
काठमाडौं । खेलमा शुरुवाती दुई गोल खाएर पछि परेको स्थिति उल्टाउँदै चर्चित हिरो आइ लिगमा किरण चेम्जोङको टोली मिनर्वा पञ्जाबले उत्कृष्ट जित हात पारेको छ ।
बुधबार लुथियाना स्थित घरेलु मैदान गुरु नानक स्टेडियममा भएको खेलमा पञ्जाबले नेरोकालाई ३–२ ले हरायो । खेलको चौथो मिनटमै वरुन थोक्चमले नेरोकाका लागि पहिलो गोल गरे । लगतै २०औं मिनटमा फिलिप टेटेले त्यो अग्रता दोब्बर पारे ।
तर खेलमा हार नमानेको पञ्जाबका लागि क्यामरुनी स्ट्राइकर डिपान्डा डिका नायक साबित भए । डिपान्डाले पहिलो हाफको २७ र ४३औं मिनटमा गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए भने अन्तिमतिर ८९औं मिनटमा तेस्रो निर्णायक गोल गर्दै ह्याट्रिक समेत पूरा गरे ।
आइ लिगमा यस सिजन डिपान्डाको त्यो पहिलो ह्याट्रिक थियो । साथै जारी आइ लिगमा उनको गोल संख्या पनि आठ पुगेको छ । जुन तथ्यांकले उनलाई जारी सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शिर्ष स्थानमा समेत राख्न सफल भएको छ ।
यो जितसँगै १० खेलबाट १७ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । र, शिर्ष स्थानमा रहेको मोहन बगान भन्दा ३ अंकले पछि । यद्यपि मोहन बगानले एक खेल कम खेलेको छ । उता पराजित नेरोका भने ८ अंकका साथ आठौं स्थानमा छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै