
फिदिम । अजम्बरी एफसी र फुल्पा युनाइटेड एफसी यहाँ जारी दोस्रो चासो तङनाम कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वाटरफाइनलमा अजम्बरीले आयोजक आनी साक्थिम क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । अजम्बरीको जितमा प्रकाश राईले ह्याट्रिक गरे । त्यस्तै थप दुई लक्ष्मण राई र मदन जबेगुले गरे ।
उता आयोजकका लागि सनम फागोले एक मात्र फर्काए । खेलमा ह्याट्रिक गरेका अजम्बरीका प्रकाश राई म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा फुल्पा युनाइटेडले नव कोपिला एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । फुल्पाका लागि म्यान अफ द म्याच समेत घोषित साजन राईले एक मात्र निर्णायक गोल गरे ।
आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।