
काठमाडौं । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानी फुटबलले आफूलाई निरन्तर फुटबलमा व्यस्त राख्न प्रयासरत देखिएको छ । करिब ८ वर्षको अन्तरालपछि फुटबलमा फर्किएको पाकिस्तानी महिला फुटबल टोलीले केही महिना अघि नेपाल मै सम्पन्न महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो ।
साफ च्याम्पियनसिपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको पाकिस्तानले बलियो बंगलादेश र भारतसँग हार बेहोरे तापनि माल्दिभ्समाथि ७–० को प्रभावशाली जित दर्ता गरेको थियो ।
अहिले आएर त्यहि पाकिस्तानी महिला फुटबल टोलीले एक्सपोजर टुरका रुपमा साउदी अरेबियामा फोर नेशन्स कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । यो कुराको पुष्टी पाकिस्तान फुटबल फेडरेशनले पनि गरेको छ ।
चर्चित साउदी शहर दमाममा हुने प्रतियोगितामा पाकिस्तान र आयोजक साउदी अरेबियासहित कोमोरस र मौरिससको महिला फुटबल टोलीले पनि सहभागिता जनाउने छन् ।