
चितवन । खराब प्रकाशका कारण खेललाई निरन्तरता दिन कठिन देखिएपछि इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल मंगलबार सम्मका लागि स्थगित भएको छ ।
सोमबार मनाङ एफसी र बागमती युवा क्लब, सर्लाही आमने सामने हुँदै थिए । निरन्तर वर्षा र खराब प्रकाशका कारण खेललाई थप निरन्तरता दिन नसकिएपछि म्याच स्थगित गरिएको आयोजकले जानकारी दियो ।
क्याम्पा चौरमा भएको खेल निर्धारित समयतर्फ १–१ को बराबरीमा सकिएपछि टाईब्रेकरतर्फ धकेलिएको थियो । तर टाईब्रेकर भने हुन सकेन । उक्त टाईब्रेकर मंगलबार बिहान हुने खेल संयोजक ध्रुव भुषालले जानकारी दिए ।
त्यसअघि खेलको २६औं मिनटमा प्रवेश दनुवारको आत्मघाती गोलबाट बागमतीले खेलमा अग्रता लिएको थियो । यद्यपि दोस्रो हाफको २०औं मिनटमा फोफनाले मनाङका लागि बराबरी गोल फर्काएका थिए ।
त्यसैगरी प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो क्वाटरफाइनल खेल एभनिर एफसी, क्यामरुन र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने आयोजकले जानकारी दियो ।
केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।