News गोधुली कपमा धरान १७ ले रच्यो इतिहास
गोलनेपाल

सुनसरी । धरानमा सम्पन्न प्रतिष्ठित २०औं गोधुली कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान वडा नम्बर १७ ले जितेको छ । यो उपाधिसँगै धरान–१७ ले पहिलोपटक ह्याट्रिक समेत जमाउन सफल भएको छ ।

शनिबार धरान स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा धरान–१७ ले वडा नम्बर १६ लाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच धरान १६ का मनिष बस्नेत घोषित भए । विजेता बनेको धरान १७ ले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता धरान १६ ले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ धरान १७ का मिलन राई सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी बने । उनले दुवै पुरस्कार वापत नगद १७,५०० हात पारे । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक धरान १७ कै सुजन राई घोषित भए ।

उत्कृष्ट डिफेन्डर धरान १६ का जलन सुब्बा बने भने उत्कृष्ट मिडफिल्डर र उदयीमान खेलाडकोे पुरस्कार धरान १७ का क्रमशः सुबिन्द्र राई र किशोर राईले जिते । त्यसैगरी उत्कृष्ट प्रशिक्षक पनि धरान कै योगेन राई बने । सबैले जनही ५५००–५५०० हात पारे ।

गोधुली क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगिताको विजयी खेलाडीहरुलाई धरानका मेयर तिलक राई तथा एन्फाका केन्द्रिय उपाध्यक्ष किशोर झापाली लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

 

Post Comments