News प्रदेश स्तरीय फुटबल प्रतियोगिता शुरु, आयोजक माछापुच्छे त्रिशक्ति युनाईटेड विजयी
गोलनेपाल

माछापुच्छे गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बाग्लुङलाई टाइब्रेकरमा ४-३ गोलले हराउदै आयोजक माछापुच्छे त्रिशक्ति युनाईटेडले पहिलो जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच निशान थापा घोषित भए ।

खेलको उद्घाटन भने नौलो किसिमले गरिएको थियो । घाचोकमा पनि प्याराग्लाइडिङ्गको सम्भावना रहेको र उडान गर्न समेत योग्य रहेको भन्ने सुचना दिन प्याराग्लाइडिङ्गबाट बल फाली उद्घाटन गरिएको थियो ।
 
लाहाचोकलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ स्थानीय अर्मला देउरालीबाट दुई प्याराग्लाइडिङ उडान भरी खेलमैदानमा अवतरण गराइएको थियो । पाइलट विजय गौतम र अमन थापाले उडान भरेका थिए । उक्त प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयले सबै स्थानीय तहमा एक खेलमैदान बनाउने तयारी गरेको स्पष्ट पार्दै सोही अनुसार लाहाचोक खेलमैदानको स्तरउन्नती गरिने बताए ।उनले स्तरउन्नतीका लागि यहि माघ महिना भित्रै रु.५० लाख विनियोजन गर्ने बचनबद्घता पनि व्यक्त गरे ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको क्लवले जनाएको छ।कुल १२ समूहको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

Post Comments