काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले बलियो जोर्डनसँग पराजय बेहोर्दै छनौट प्रतियोगिताको शुरुवात गरेको छ । बुधबार अबेर राती सम्पन्न समूह ए तर्फको दोस्रो खेलमा युवा खेलाडीहरुले भरिएको नेपालले जोर्डनसँग ०–२ को हार बेहोरेको हो ।
कुवेत सिटी स्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलको दोस्रो हाफतर्फ ६८औं मिनटमा अली ओल्वानले नेपाली रक्षापंक्ति र गोलरक्षकलाई बिट गर्दै बक्स नजिकैबाट पहिलो गोल गरे । ८२औं मिनटमा हम्जा अल दर्दुरले पेनाल्टीबाट त्यो अग्रता दोब्बर पारे । जुन अग्रता निर्णायक नतिजा पनि बन्यो ।
खेलमा जोर्डनले पहिलो हाफमा पनि पेनाल्टीको अवसर पाएको थियो । तर बेल्जियन क्लब उड हेभर्लीका लागि व्यवसायीक फुटबल खेलिरहेका मुसा अल तामरीको प्रहार नेपालका गोलरक्षक दिप कार्कीले उत्कृष्ट रुपमा जोगाएका थिए । रक्षात्मक खेले पनि सुधारिएको प्रदर्शन गरेको युवा नेपाली टिमले हारलाई भने जोगाउन सकेन ।
नेपालले आगामी खेल शनिबार आयोजक कुवेतसँग खेल्नेछ । त्यस्तै सोही दिन जोर्डनले इण्डोनेसियाको सामना गर्नेछ । स्मरण रहोस, इण्डोनेसियाले बुधबार नै भएको समूह ए तर्फको पहिलो खेलमा कुवेतलाई २–१ ले स्तब्ध पारेको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै