
काठमाडौं । हाल दश वर्षको प्रतिवन्ध झेलिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबल गतिविधीमा सामेल नहुन फिफाले एन्फालाई ध्यानाकर्षण पत्र पठाएको छ ।
फिफाको एक प्रमुख सदस्य केनी जिन–मेरी तथा एएफसीका सह–महासचिव वाहिद कर्दानीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुधबार पठाएको पत्रमा सो कुराको ध्यानाकर्षण गराएको हो ।
फिफाको पत्रमा उल्लेख भएअनुसार एन्फा र एन्फाका पदाधिकारीहरुले पूर्व अध्यक्ष थापालाई प्रतिवन्ध लागु हुँदासम्म कुनै पनि किसिमको फुटबल गतिविधीमा संलग्न हुन नदिन ध्यानाकर्षण गराएको छ ।
साथै ध्यानाकर्षण गराउनुका बावजुद पनि थापाले त्यस्ता गतिविधी गरेको पाइए फिफाको अनुशासन कमिटीले थप कारवाहीका लागि आवश्यक कदम चाल्ने समेत उल्लेख गरेको छ ।
स्मरण रहोस, गत साता मात्र थापाले पत्रकार सम्मेलनको आयोजना गरि एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका थिए । साथै आफूलाई अन्याय भएको भन्दै उनले न्यायको माग समेत गरेका थिए ।
सन् २०१५ मा आर्थिक अनियमितताको आरोपमा १० वर्षको प्रतिविन्ध झेलिरहेका पूर्व अध्यक्ष थापा सामाजिक सञ्जालमा पनि सक्रिय छन् । नेपाली फुटबल टोलीका पूर्व कप्तान समेत रहेका थापाले दशकभन्दा बढी एन्फाको नेतृत्व पनि सम्हालेका थिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय