
बुटवल । आयोजक फर्साटिकर युवा क्लबको संघर्षपुर्ण जितसँगै जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले चाँदनी युवा क्लब, दानापुरलाई सडन डेथमा ३–२ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ तुलनात्मक रुपमा चाँदनीले भन्दा आयोजक फर्साटिकरले केही राम्रो अवसरहरु पाएता पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
ममंगलबारको खेलमा पेनाल्टी शुटआउटमा विपक्षीका दुई प्रहार जोगाएका फर्साटिकरका गोलरक्षक शुभंकर जिसी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गर्ने ।
मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । फर्साटिकरले अब दोस्रो सेमिफाइनलमा पौष २४ गते पाल्पा–११ सँग खेल्नेछ ।
प्रतियोगिता अन्तरगत पौष २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र भेरव एफसी, नवलपरासीबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २६ गते हुनेछ ।