![](https://goalnepal.com/np/uploads/news/1578068190.jpg)
-
राज कुमार श्रेष्ठ
पूर्वी नेपालको सुन्दर शहरहरु मध्ये इटहरी पनि एक हो । यहाँ बस्ने मानिसहरु फरक जातजाति भेषभुषाका छन् साथै यहाँका मानिसहरु पनि विभिन्न क्षेत्रहरुमा सक्रिय छन् । कोही खेलकुद, राजनीति, साहित्य, व्यापार, कलाकारिता आदि विभिन्न क्षेत्रका व्यक्तिहरुले इटहरीलाई झन चिनाउने काम गरेको छ ।
यस्तै वि.स. २०५० साल भाद्र २० गतेका दिन त्यतिखेर इटहरी गा.वि.स वाड न ४ र हाल इटहरी उ.प.न.का वाड न ९ मा बाबू केबल कुमार तामाङ र आमा छाया कुमारी तामाङको कोखबाट कान्छा सन्तानको रुपमा हेम तामाङको जन्म भएको थियो । तीन सन्तान मध्ये हेम एक्ला छोरा हुन् । उनका दुई दिदि छन् ।
इटहरीमा जन्म भए पनि तामाङको बाल्यकाल भैरहवामा बित्यो । इटहरीको पाथीभरा इङ्लिस बोर्डिङ स्कूलमा यू.के.जी सम्म मात्र पढ्न पाए । त्यसपछि तामाङले भैरहवाको मिनरुवा इङ्लिस बोर्डिङ स्कूलमा सात कक्षा सम्म आफ्नो पढाइलाई अगाडी बढाए । त्यसपछि तामाङ एन्फा एकेडेमी बसेर अध्ययन थाले ।
![](https://i0.wp.com/www.kheldainik.com/wp-content/uploads/2020/01/485832_335527039875853_195036862_n.jpg?w=960)
हेम सानै उमेरदेखि खेल्न भने पछि हुरुक्क हुने र स्कूल छुट्टि हुना साथ फुटबल खेल्न हुइकिन्थे । परिवारबाट पनि तामाङलाई फुटबल खेल्नलाई कुनै बाधा थिएन । झन खेल्नको लागि सहयोग र खेल सामाग्री किनेर ल्याइदिन्थे । “घाउ लाग्नेलाई मात्र थाहा हुन्छ दुखाइ के हो भने” झैं हेमका बाबु पनि आफु फुटबल खेल्ने भएकाले छोराले पनि फुटबल खेल्दा सहयोग र छोराको सपनालाई झन साकार बनाउन खोज्थे ।
कुराकानीका क्रममा हेम हेम एउटा रमाइलो घट्ना सम्झन्छन् भौरवहाको मिनरुवा स्कूलमा कक्षा ६ मा पढ्दा एक दिन शिक्षकले कक्षाका सबै विद्यार्थीहरुलाई भविष्यम तिमिहरु के बन्छौ भनेर सोध्दा कोहीले शिक्षक, डक्टर, पाइलट भन्दै गर्दा हेमले म फुटबल खेलाडी बन्छु भनेछन् ।
अनि शिक्षकले हेमलाई गिज्याउँदै सानो, फुच्चे, पातलो त कसरी खेलाडी बन्छस भन्दा हेमको साथी राकेशले हेमको समर्थनमा बोल्दै शिक्षकलाई भने “सर हेम त राम्रो र ठूला दाईहरुसँग खेल्न काहाँ पुग्छ तपाईले देख्नु भएको छैन?” भन्दा शिक्षक शान्त भएका थिए । अहिले आएर हेमका साथी राकेशले भनेको त्यो कुरा उनले प्रमाणित गरेर पनि देखाइसकेका छन् ।
![](https://i2.wp.com/www.kheldainik.com/wp-content/uploads/2020/01/10696197_681724088589478_1521499728441356438_n.jpg?w=960)
तामाङले यू–१३ को छनौटमा परेर नेपालको प्रतिनिधित्व गदै सन २००८ मा बङगलादेश, २००९ मा यूू–१४ बाट इरान र २०१० मा यूू–१६ को एएफसी छनौट नेपालमै खेलेका थिए । उनले यसरी नै आफ्नो सपनालाई साकार पादै परिवारलाई समेत खुसी बनाएका थिए । त्यसपछि व्यवसायीक फड्को मार्ने क्रममा तामाङले २०६८ सालमा २ वर्ष बौद्ध क्लबबाट खेलेका थिए ।
तामाङले नेपाल आर्मीमा जागिरको लागि प्रयास गर्दा आई क्यूमा फ्यालिए पछि त्यतिखेर रितेश थापाले ट्रायलको लागि पुलिस बोलाएका थिए । त्यतिबेला हेमले आफ्नो जादुमय खेल देखाउदै पुलिसका तत्कालिका प्रशिक्षक विराट कृष्ण श्रेष्ठको मन जित्न सफल भए । त्यसपछि उनी पूर्ण व्यवसायीक फुटबल खेल्न थाले ।
२०७० सालमा दशरथ रंगाशालामा तामाङले मुनाल क्लब बिरुद्ध पुलिसबाट डेब्यु खेल खेलेका थिए । पुलिसबाट खेल्ने क्रममा तामाङले २०७४ सालमा पुलिसको कप्तानको भुमिका पनि निर्वाह गरेका थिए । पहिलो पटक कप्तान बन्दा निकै गर्विलो महसुस र थप जिम्मेवारीको अनुभुती गरेका तामाङ सम्झन्छन् । तामाङको कप्तानीमा पुलिस धेरै ठाउँ फाइनल पुगेको कुरा पनि उनको मानसपटलमा ताजै छ ।
![](https://i0.wp.com/www.kheldainik.com/wp-content/uploads/2020/01/936585_549140081847880_279727506_n.jpg?w=960)
पुलिसबाट धेरै प्रतियोगिता खेलिसकेका तामाङ अहिले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा व्यस्त छन् । तामाङका अनुसार जारी लिगमा पुलिस पनि उपाधिको दावेदार रहेको बताउँछन् ।
अहिले भइरहेको लिगले खेलाडीलाई थप केही राहत भएको महसुस तामाङले पनि गरेका छन् । विभाीय टिमका खेलाडीलाई त्यस्तो खासै असर नपरेता पनि अरु क्लबबाट खेल्ने खेलाडीलाई ३ महिना भएपनि केही मात्रामा सहज भएको उनी बताउँछन् । हेम भन्छन् ‘हामी विभागीय टिमका खेलाडीका लागि लिग पछि पनि मासिक रुपमा तलब आउने हुनाले खासै समस्या छैन । तर अन्य क्लबबाट खेल्ने खेलाडीहरुलाई भने गाह्रो नै पर्छ । खेलाडीहरु पनि देशका गहना हुन् सम्बन्धित पक्षले खेलाडीको भविष्यबारे सोच्न ढिला गर्नु हुँदैन ।’
![](https://i1.wp.com/www.kheldainik.com/wp-content/uploads/2020/01/34747701_474491276315069_4533085097548578816_n.jpg?w=960)
कुनै पनि खेलाडीले खेल जीवन सकेपछि भविष्यमा के गर्ने चिन्ता हुन्छ । नेपालमा अझै पनि खेलेर आफ्नो जीवन चलाउन गाहे छ । यतिमात्र नभएर खेलाडीलाई खेल्दासम्म मात्र हाइ–हाइ गर्ने र खेल्न छोडेपछि बाइ–बाइ गर्ने नेपाली खेलकुदको परम्परा ठिक नरहेको हेमको ठम्याई छ । उनी भन्छन्, ‘अझै पनि यो विषयमा कसैले नसोचे नेपालमा खेलकुदको महत्व नै नहुने निश्चित देख्छु ।’ यस विषयमा सम्पूर्ण खेल संस्था साथै नेपाल सरकारले सोच्नु पर्ने बेला आएको छ ।’
हाल २६ वर्षमा दगुरिरहेका तामाङले आफ्नो खेल जीवनलाई थप अगाडी बढाउने सोचमा रहेको बताउछन । तत्काल बिहे गर्ने मनस्थ्तििमा नरहेको तामाङ आफ्नो खेललाई झन सुधार्दै टिमका लागि राम्रो खेल्नु अहिलेको एक मात्र उद्देश्य रहेको साथै आफ्नो खेल जीवन सकेपछि पनि पुलिसको सेवामा नै निरन्तर लागि रहने र खेलकुदको लागि पनि भविष्यमा आफु सधै काम गरिरहने तामाङको लक्ष्य छ ।