
बुटवल । झरना स्पोर्टस् क्लब, कुञ्जलापुरको आयोजनामा भएको सुबोध स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि कुमारी एफसीले जितेको छ ।
तिलोत्तमा–४ मणिग्राम स्थित युनिक फुटसल एरिनामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा कुमारीले भलवारी एफसीलाई ५–४ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पार्यो ।
कुमारीको जितमा अदिल हामिदले चार गोल गरे भने अभय रानाले थप एक गोल गरे । उता पराजित भलवारीका लागि चारै गोल लक्ष्मण थापाले गरे ।
विजेता बनेको कुमारीले उपाधिसहित नगद ८० हजार हात पार्यो भने उपविजेता भलवारीले ४० हजारमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट भलवारीका लक्ष्मण थापा घोषित भए ।
उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि भलवारी कै सुवास गुरुङले हात पार्दा प्रतियोगिता भरि ११ गोल गरेका कुमारी एफसीका अभय रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।
झरना स्पोर्टस् क्लब, कुञ्जलापुर, रुपन्देहीको आयोजनामा भएको दुई दिने प्रतियोगितामा जिल्लाका कुल २० टोलीहरुको सहभागिता रहेको खेल संयोजक सिजन थापाले जानकारी दिए ।