
बुटवल । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार महामारीका कारण रोकिएको जिल्ला लिग फुटबल प्रतियोगिता रुपन्देहीमा पनि शुक्रबारदेखि शुरु भएको छ ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको उद्घाटन खेलमै साविक विजेता झरना स्पोर्टस क्लब निराश बन्न पुग्यो । सुनौलो संगम युवा क्लबसँग शून्यका विरुद्ध १ गोलले पराजित भएपछि झरनाले जिल्ला लिगमा खराब शुरुवात गर्न बाध्य भएको हो ।
सुनौलो संगमका लागि पहिलो हाफको इन्जुरी समयमा मनिष थापाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच सुनौलो संगम कै रबिन्द्र थापा घोषित भए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन रुपन्देही जिल्ला फुटबल संघका सल्लाहकार जगदिश चन्द्र आचार्यले गरेका थिए । सो अवसरमा फुटबल संघका उपाध्यक्ष तथा लिग संयोजक मुकेश कुँवर महासचिव लोक पुन, सचिव शंकर मल्लाह, एन्फा एकेडेमीका प्रशिक्षक शल्यान खड्गी, पुकार गहतराज, दिलीप क्षेत्री, एन्फा टेक्निकल सेन्टरका निर्देशक बुद्धि बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
दश टोलीहरु उपाधिका लागि भिड्दै
जिल्ला लिगमा गत बर्ष शिर्ष आठमा परेका टोलीहरु र यसै बर्ष सम्पन्न जिल्ला लिग छनौटबाट आएका दुई टोलीहरु गरि कुल दश टोलीहरु लिग उपाधिका लागि भिड्दै छन् ।
२३ दिनसम्म चल्ने लिगमा कुल ४५ खेलहरु हुनेछन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली लिग च्याम्पियन बन्ने संयोजक मुकेश कुँवरले बताए । लिगको उद्घाटन खेलबाहेक अन्तिम दिनसम्म दुई खेलहरु हुने समेत कुँवरले जानकारी दिए ।
लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोली तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक कुँवरले जानकारी दिए ।