
दुहबी । बिहीबारदेखि शुरु प्रथम दुहबी भेट्रान कप फुटबल प्रतियोगितामा घरेलु टोली हाम्रो धरान भेट्रान एफसी, सुनसरीले विजयी शुरुवात गरेको छ । दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा भएको उद्घाटन खेलमा हाम्रो धरानले चौधरी–११ भेट्रानलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
हाम्रो धरानको जितमा खेलको ५३औं मिनटमा जोनी मोक्तानले पहिलो गोल गरे भने लगतै ५९औं मिनटमा डिल्लीराम श्रेष्ठले दोस्रो गोल थप्दै टोलीको जित पक्का गरेका थिए । यो जितसँगै हाम्रो धरान क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा हाम्रो धरानका डिल्लीराम श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १ हजार सहित ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत कार्तिक २६ गते शुक्रबारको खेल भरौल भेट्रान क्लब र मिल्स भेट्रान क्लबबीच हुने आयोजकले जनाएको छ । दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।
कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने मंसिर ४ गतेका दिन हुनेछ । त्यस्तै बिहीबार प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका थिए ।