
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पुस ८ गतेदेखि हुने भनिएको तमू ल्होसार गोल्डकप प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको मिति सरेको छ । अब नयाँ मिति अनुसार प्रतियोगिता यहि पुस ११ गतेबाट सञ्चालन हुने भएको हो ।
झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक–एक टिमले सहभागिता जनाउने प्रतियागिता पुस १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । प्राविधिक कारणले प्रतियोगिता तीन दिनपछि सार्नुपरेको अध्यक्ष गुरुङले बताए ।
गुरुङ समुदायहरुको महान पर्व तमू ल्होसारको उपलक्ष्यमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपयाँ पाउने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष डिके गुरुङले हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको समेत बताए । प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने पनि आयोजकले जनाएको छ ।