
पोखरामा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ सोमबार फाइनलमा फेरि चुकेपछि नेपाली महिला फुटबल टोलीकी दुई महत्वपूर्ण सदस्यद्वय मनमाया लिम्बु र निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
स्मरण रहोस, पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले भारतसँग २–० ले पराजित भएपछि सागमा ऐतिहासिक स्वर्ण जित्ने अवसर फेरि गुमाएको थियो । यसअघि गत संस्करणको सागमा पनि फाइनलसम्म पुगेको नेपाली टोली भारतसँगै पराजित हुँदै उपविजेता बनेको थियो ।
सम्मानपछि दुवै खेलाडीले नेपाली फुटबललाई मैदान भित्र सधै मिस गर्ने भएता पनि फुटबलमै आवद्ध रहेर नेपाली फुटबलको विकास लागि पर्ने प्रतिक्रिया दिए । मनमाया र निरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विशेष मायाको चिनोसहित विदाई गरेका थिए ।
स्मरणीय छ, हालै बिराटनगरमा सम्पन्न महिला साफ चयाम्पियनसिपको फाइनलमा नेपाललाई पुराउन यी दुवै खेलाडीको महत्वपूर्ण योगदान रहेको थियो । निरु थापा कप्तान समेत थिईन् । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।