News नव प्रतिभालाई दोस्रो न्यु इरा कपको उपाधि
सुरज राना मगर

बुटवल । रुपन्देहीमा सम्पन्न दोस्रो न्यु इरा कपको उपाधि प्रतिस्पर्धात्मक जितका साथ नव प्रतिभा युवा क्लबले जित्न सफल भएको छ । मंगलबार भएको रोमाञ्चक फाइनल भिडन्तमा नव प्रतिभाले राइजिङ–११ लाई टाइब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि खेलमा दुवै टोलीले पाएको राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा भने नतिजा नव प्रतिभाले आफ्नो पक्षमा पार्न सफल भएको थियो । टाईब्रेकरमा राइजिङका दुई खेलाडीको प्रहार पोष्टको माथिल्लो भागबाट बाहिरिनु नै दुर्भाग्यपुर्ण र टर्निङ प्वाइन्ट बन्यो । फाइनल खेलको म्यान अफ द म्याच नव प्रतिभाका कमल श्रेष्ठ घोषित भए ।

विजेता बनेको नव प्रतिभाले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता राइजिङले ५१,१११ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी नव प्रतिभा कै शिव बोटे घोषित भए । उनले पुरस्कार वापत नगद ७५ सय हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बुद्धभुमि फुटबल एकेडेमीका बिमल बिकले हात पारे । बिकले पनि ट्रफीसहित नगद ५ हजार प्राप्त गरे ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा गत फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष तुल तरामुले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । साथै उनले आगामी दिनमा प्रतियोगितालाई थप भव्यता र सफलताका साथ सम्पन्न गर्ने योजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

Post Comments