News बगर भाई खलक भेट्रान फुटबल शुरु, आयोजकको शानदार शुरुवात
उमेश पुन

पोखरा । पर्यटकीय शहर पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकको आयोजनामा चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १०औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सोमवारदेखि शुरु भएको छ ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नाराका साथ पोखराको टुँडी खेलमैदानमा भएको उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी शुरुवात गरेको छ । ४० देखि ६५ वर्ष उमेर समुहको उक्त प्रतियोगितको उद्घाटन खेलमा स्थानिय इन्द्रेणी एकिकृत विकास केन्द्र सँगको खेलमा पोखरा भेट्रान्स २–१ गोल अन्तरले विजयी भएको हो ।

पोखरा भेट्रान्सका लागि शंकर केसी र भोजेन्द्र तामाङले गोल गरे । उता पराजित इन्देणीका लागि योगेन्द्र थकालीले १ गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । खेलमा पोखरा भेट्रान्सका दिपेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा आयोजक पोखरा बगर भाई खलक ‘ए’ ले श्रृंखला क्लव भलामलाई ४–० गोल अन्तरले पराजित गरेको छ । आयोजकको जितमा खेलमा म्यान अफ द म्याच समेत घोषित मनोज गुरुङले २ गोल गरे भने गंगा तामाङ र राजकुमार तामाङले समान १–१ गोल गरेका थिए ।

तेश्रो खेलमा लेकसाईड भेट्रान्स र विष्णु पादुका भेट्रान्स विचको खेलमा विष्णु पादुका हेम्जा १–० गोलले विजयी भएको छ । विष्णु पादुकाका लागि राजेन्द्र थापाले एक मात्र निर्णायक गोल गरे । खेलमा विष्णु पादुकाका गोलरक्षक भरत बहादुर थापा म्यान अफ द म्याच भए ।

यहि फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, विरगंज, बुटवल, वालिङ र पोखराका गरी कुल २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख हात पार्नेछ भने द्वितियले नगद रु. ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments