News डिफेन्डिङ च्याम्पियन सहलेशलाई हराउँदै एनआरटी सेमिफाइनलमा
गोलनेपाल

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन सहलेश युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै न्यूरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ।

पथरीस्थित पथरी रंगशालामा आज भएको खेलमा एनआरटीले सुरुवाती अग्रता आत्मघाती गोलमार्फत बनाएको थियो। सहलेश युवा क्लबका डिफेन्डर निङ्मा घिसिङको आत्मघाती गोलपछि एनआरटीले खेलमा १–० को अग्रता बनाएको थियो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका कृष्ण आले मगरले लामो दूरीबाट गरेको उत्कृष्ट प्रहार सिधै जाली चुमेपछि एनआरटीले २–० को अग्रता बनायो।

त्यसपछि लगत्तै सुदीप श्रेष्ठले गोल गर्दै एनआरटीको अग्रता ३–० मा पुर्‍याए।

खेल अवधिभर सहलेश युवा क्लबले गरेका करिब आधा दर्जन उत्कृष्ट प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले उत्कृष्ट प्रदर्शन गर्दै बचाउ गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनका कारण विशाल सुनार खेलको प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत भोलि तेस्रो क्वार्टरफाइनल खेलमा थ्री स्टार क्लब र झापा–११बीच प्रतिस्पर्धा हुनेछ।

Post Comments