कोटिहवा । केही दिन अघि मात्रै चितवन गोल्डकपको उपाधि जितेको एप्पल गुरु सुर्यपुर एफसी, चितवनलाई स्तब्ध पार्दै आयोजक लिस्नु युवा क्लब रुपन्देहीमा जारी २४औं लिस्नु कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा लिस्नुले सुर्यपुरलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ लिस्नुका लागि युवराज खड्का र एमोस पुनले गोल गर्दा सुर्यपुरका लागि अभि लामा र पासाङ लामाले गोल गरेका थिए ।
यद्यपि टाईब्रेकरमा लिस्नुले नतिजा आफ्नो पक्षमा पार्यो । पेनाल्टी शुटआउटमा सुर्यपुरका खेलाडीको दुई पेनाल्टी प्रहार विफल बनाएका लिस्नुका अनुभवी गोलरक्षक सन्तोष म्यान अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत असोज ६ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, शुद्धोधन, नवलपरासी र मोन्स्टर गाईज, सुनवल, नवलपरासी बीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।
