News महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
गोलनेपाल

उमरजन, बारा। करैयामाई गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शनिवार सम्पन्न महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघ विजयी बनेको छ। रौतहटले निजगढ फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको हो।

खेलको सुरुआतदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको थियो। खेलको ११औं मिनेटमा रौतहटका लागि मनिषा श्रेष्ठले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् र टोलीलाई अग्रता दिलाइन्। त्यसपछि पनि रौतहटले दबाब कायम राख्दा मनिषा श्रेष्ठले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरिन्।

हारका बावजुद उत्कृष्ट प्रदर्शन गरेकी निजगढ फुटबल क्लबकी कप्तान रेनु बल ‘म्यान अफ द म्याच’ घोषित भइन् र उनले नगद रु. १ हजार सहित ट्रफी प्राप्त गरिन्।

प्रतियोगितामा विजेता बनेको रौतहट जिल्ला फुटबल संघले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता निजगढ फुटबल क्लबले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। त्यस्तै, खेलमा दुई गोल गरेकी रौतहटकी मनिषा श्रेष्ठ पनि नगद रु. ५०० सहित सम्मानित भइन्।

Post Comments