News फिफा विश्वकपः एसियाली राष्ट्रहरुको उत्कृष्ट प्रदर्शन जारी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी प्रतिष्ठित फिफा विश्वकप २०२६ तर्फ सोमबार अबेर राती र मंगलबार बिहान गरी सम्पन्न तीन खेलहरु बराबरीमा सकिएका छन् ।

समूह जी तर्फको पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेले । खेलको १९औं मिनटमा इमाम अशुरको गोलबाट अग्रता लिएको इजिप्टले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफको ६६औं मिनटमा मोहम्मद हेनीले आत्मघाती गोल गर्दा बेल्जियम खेलमा फर्किएको थियो । र, अन्ततः खेल १–१ को बराबरीमा टुंगियो ।

समूह जी कै अर्को खेलमा इरान र न्युजिल्याण्डले २–२ गोलको बराबरी खेले । खेलमा दुईपल्टको अग्रता जोगाउन नसकेको न्युजिल्याण्डले अन्ततः बराबरीमा अंक बाँड्न बाध्य बन्यो ।

खेलको सातौं मिनटमा इलिजाह जस्टले न्युजिल्याण्डका लागि पहिलो गोल गरेका थिए । तर ३२औं मिनटमा रमिन रिजाइनले इरानका लागि पहिलो राबरी गोल फर्काएका थिए । त्यस्तै दोस्रो हाफको ५४औं मिनटमा फेरि इलिजाह जस्टले नै न्युजिल्याण्डलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । यद्यपि त्यसको दश मिनट लगतै मोहम्मद मोहेबीले इरानका लागि दोस्रो गोल गर्दै खेललाई फेरि रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

अब समूह चरणको दोस्रो खेलमा जुन २१ तारीखका दिन बेल्जियमले इरानसँग खेल्नेछ भने सोही दिन न्युजिल्याण्डले इजिप्टको सामना गर्नेछ ।

साउदीसँग रोकियो उरुग्वे

त्यसैगरी समूह एचतर्फ अर्को एसियाली राष्ट्र साउदी अरबले पूर्व विजेता उरुग्वेसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।

खेलमा शुरुवाती अग्रता साउदीले नै सनसनीपूर्ण रुपमा लिएको थियो । खेलको ४१औं मिनटमा अब्दुल्लाह अल–अम्रीले साउदीका लागि शुरुवाती खाता खोलेका थिए ।

त्यसपछि उरुग्वेले खेलमा फर्किन अन्तिम समयसम्म आफ्नो प्रयास जारी राख्यो र सफल पनि बन्यो । खेलको अन्तिमतिर ८०औं मिनटमा म्याक्सी अरौजोले उरुग्वेका लागि बराबरी गोल फर्काउँदै टोलीको सम्भावित हार टारेका थिए ।

स्मरण रहोस, समूह एच कै अर्को खेलमा पूर्व विजेता स्पेनले नवप्रवेशी टोली केप भर्डीसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको थियो ।

समूह एचको आगामी खेलमा अब जुन २१ तारीखका दिन स्पेनले साउदी अरबसँग खेल्नेछ भने सोही दिन उरुग्वेले केप भर्डीको सामना गर्नेछ ।

Post Comments