चरङ्गे । द प्राईम फुटबल क्लब र सैनामैना फुटबल क्लब रुपन्देहीको देवदहमा जारी दोस्रो सिद्धार्थ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा द प्राईमले शिवनगर फुटबल क्लबलाई २–० ले हराउँदै फाइनलमा स्थान बनायो । द प्राईमका लागि अस्मित शर्मा र बिजन सुर्यवंशीले गोल गरे । खेलमा द प्राईम कै बिजन सुर्यवंशी म्यान अफ द म्याच बने ।
त्यस्तै बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा सैनामैनाले आयोजक सिद्धार्थ युवा क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने सैनामैना सफल बन्यो । खेलमा सैनामैनाका गोलरक्षक हिमाल कार्की म्यान अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत अब जेठ ३० गतेका दिन हुने फाइनलमा द प्राईम फुटबल क्लब र सैनामैना फुटबल क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक बिसन परियारले जानकारी दिए ।
सिद्धार्थ युवा क्लब, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष सरोज गुरुङले जानकारी दिए ।