News युइएफए महिला युरोः फ्रान्सको लगातार दोस्रो जित, इङल्याण्डको सम्भावना पनि कायमै
गोलनेपाल

काठमाडौं (एजेन्सी) । स्वीजरल्याण्डमा जारी प्रतिष्ठित युइएफए महिला युरो च्याम्पियनसिपतर्फ दावेदारका रुपमा रहेको फ्रान्स र साविक विजेता इङल्याण्डले जित हात पारेका छन् ।

समूह डी तर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा फ्रान्सले वेल्सलाई ४–१ ले हरायो । यसअघि फ्रान्सले आफ्नो पहिलो खेलमा इङल्याण्डलाई २–१ ले हराएको थियो ।

त्यस्तै समूह डी कै अर्को खेलमा इङल्याण्डले नेदरल्याण्डसमाथि ४–० को जित निकाल्दै क्वाटरफाइनल प्रवेशको सम्भावना कायम राख्यो । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको फ्रान्स समूह डी को शिर्ष स्थानमा छ र क्वाटरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

फ्रान्सले आफ्नो अन्तिम खेलमा १३ जुलाईका दिन नेदरल्याण्डससँग भिड्नेछ । जुन खेलमा फ्रान्सलाई बराबरी गरे पनि प्रर्याप्त हुनेछ । समान ३–३ अंक जोडेका इङल्याण्ड र नेदरल्याण्डस क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । साथै क्वाटरफाइनल प्रवेश गर्ने यी दुवै टोलीको सम्भावना पनि कायम छ । इङल्याण्डले आफ्नो अन्तिम खेलमा १३ जुलाई कै दिन वेल्सको सामना गर्नेछ । अंकविहीन वेल्स भने पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

Post Comments