
काठमाडौं (एजेन्सी) । उत्तर अमेरिकी महादेशको प्रतिष्ठित कनकाफ गोल्डकपको २१औं संस्करणतर्फ उद्घाटन खेलमा साविक विजेता मेक्सिकोले विजयी शुरुवात गरेको छ ।
अमेरिकी शहर इंगलवुडमा भएको समूह ए तर्फको उद्घाटन खेलमा ९ पल्टको विजेता मेक्सिकोले डोमिनिकन रिपब्लिकलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलको ४४औं मिनटमा एडसन अल्वारेजको गोलबाट मेक्सिकोले खेलमा अग्रता बनाएको थियो । ४७औं मिनटमा स्टार फरवार्ड राउल जिमिनेजले मेक्सिकोको त्यो अग्रता दोब्बर पारे । यद्यपि खेलको ५१औं मिनटमा पिटर गोन्जालेजले डोमिनिकनका लागि पहिलो गोल फर्काए ।
तर, डोमिनिकन रिपब्लिकले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । लगतै ५३औं मिनटमा सिजर मौन्टेजले मेक्सिकोका लागि तेस्रो गोल गरे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । उता ६७औं मिनटमा एडसन भेलेजले डोमिनिकनका लागि दोस्रो गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
समूह ए मा मेक्सिको र डोमिनिकन रिपब्लिक बाहेक कोस्टारिका र सुरिनाम पनि रहेका छन् । प्रतियोगितामा फिफा मातहतका दुई महासंघका १६ टोलीहरुले सहभागिता जनाएका छन् । जसमा एसियाबाट साउदी अरेबियाले पहिलोपटक सहभागिता जनाउन छ ।
क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको समापन र फाइनल आगामी जुलाई ६ तारीखका दिन अमेरिकी शहर हुस्टनमा हुनेछ ।