News पाल्पामा एन्फा कम्युनिटी कोर्ष सम्पन्न
सुरज राना मगर

तानसेन । फुटबल प्रशिक्षणमा अवसर खोज्नेहरुका लागि पाल्पा जिल्ला फुटबल संघको आयोजनामा चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्ष सम्पन्न भएको छ ।

यही जेठ २३ देखि २६ गतेसम्म पाल्पाली नगर तानसेनमा सञ्चालन भएको कोर्षमा १३ जिल्लाका कुल ४४ प्रशिक्षार्थीहरुले सहभागिता जनाएको कार्यक्रम संयोजक तथा पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष प्रज्वल कुमार उदयले बताए ।

कम्युनिटी कोर्षमा सहभागि प्रशिक्षार्थीहरुलाई एन्फाका हेड अफ ऐजुकेशन सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकज बहादुर शाहीले प्रशिक्षण र सहजीकरण गरेका थिए । उनीहरुले सहभागि प्रशिक्षार्थीहरुलाई फुटबल प्रशिक्षकको नैतिक, प्राविधिक र अन्य महत्वपूर्ण विषयमा शारीरिक र मौखिक ज्ञानसँगै प्रशिक्षण दिएका थिए ।

जिल्ला मै पहिलोपटक कुशल प्रशिक्षक बन्न चाहनेहरुका लागि पहिलो खुट्किलोका रुपमा कम्युनिटी कोर्ष आयोजना गरिएको पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए । कोर्षमा सिकेका र जानेका कुराहरुलाई सही रुपमा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अध्यक्ष राणाले अनुरोध समेत गरे ।

कोर्षमा सहभागिहरु मध्ये नयाँ पुराना खेलाडीहरु समेत रहेका सुबित केसी, सुदेश पुन, अमृत केसी, दिनेश गुरुङ्ग, केशवराज श्रेष्ठ, अनिल शाही ठकुरीलगायतले फुटबल प्रशिक्षण सम्बन्धी आफूहरुले कतिपय नजानेका कुराहरुको जानकारी लिने अवसर मिलेको बताए । साथै कोर्षमा अध्ययन गरेका र बुझेका कुराहरुलाई आउने दिनमा फुटबल प्रशिक्षणमा सही रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।

चार दिने कार्यक्रममा निरन्तर सहभागिता जनाएका पाल्पा जिल्ला फुटबल संघका सदस्य तथा प्रचार प्रसार संयोजक करन चित्रकार, एन्फा प्रशिक्षक रितेश मल्लले आफ्नै गृहजिल्लामा भएका यस किसिमका कोर्षहरुले यहाँका खेलाडी तथा प्रशिक्षकहरुमा फुटबलप्रति झुकाव अझै बढ्ने विश्वास व्यक्त गरे । साथै कोर्षमा सहभागि सबैलाई आगामी दिनहरुका लागि शुभकामना समेत दिए ।

Post Comments