
सिरहा। तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चित्लाङ फुटबल क्लबले अत्यन्त प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न उक्त खेलमा चित्लाङले सर्लाहीको बागमती युथ क्लबलाई एकतर्फी रूपमा ६–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक खेल देखाएको चित्लाङका लागि पहिलो गोल चौथो मिनेटमै चन्दन दासले गरे। त्यसपछि टोलीका स्टार खेलाडी युसुप मल्लिकले १६औं, २०औं र ५७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। युसुपको द्रुत गतिको खेल, उत्कृष्ट पोजिसनिङ र गोल गर्ने क्षमताले दर्शकको मन जितेको थियो।
चित्लाङका विदेशी खेलाडी एडमले खेलको ३०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता झन् सशक्त बनाए भने खेलको अन्त्यतिर अतिरिक्त समयको तेस्रो मिनेटमा जयजन्म धामीले थप गोल गर्दै बागमती युथ क्लबको सम्भावनामा पूर्णविराम लगाए।
बागमती युथ क्लबका लागि दोस्रो हाफको ४९औं मिनेटमा बिप्लब भुजेलले एकमात्र सान्त्वना गोल फर्काएका थिए। खेलको उत्कृष्ट प्रदर्शनकर्ता युसुप मल्लिक म्यान अफ द म्याच घोषित भए।